ललितपुर - ललितपुर – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेका छन् ।
प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरी ९५९ वटा मतदानस्थल रहेका छन् । यहाँ १ हजार ४५५ वटा मतदान केन्द्रमध्ये ४४६ वटा अति संवेदनशील, ६९७ वटा संवेदनशील र २८४ वटा सामान्य अवस्थामा रहेका छन् ।
मतदानस्थल संरचनाअनुसार, एउटा मात्र केन्द्र भएको स्थल ५२५, दुई केन्द्र भएका ३५३, तीन केन्द्र भएका ४९, चार केन्द्र भएका १२, पाँच केन्द्र भएको एक र छ केन्द्र भएको एक रहेका छन् । एक केन्द्र भएको अस्थायी स्थल १८ र थप मतदान केन्द्र ४९६ रहेका छन् ।
कर्णालीमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई–दुई वटा तथा अन्य आठ जिल्लामा एक–एक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कुल मतदाता सङ्ख्या १० लाख ३७ हजार १८ रहेको छ । साथै, कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेका छन् ।

बिजनेस पाटी