निषेधित गतिविधि गरे कानुनी कारबाही हुने : आयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
510 views

ललितपुर - ललितपुर – निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ ।

आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गरेको छ । साथै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र जिल्ला आचारसंहिता अनुगमन समितिलाई परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम कारबाही गर्न भनिएको छ ।

आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

त्यस्तै, फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने स्पष्ट पारिएको छ ।

यसैगरी, अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालन हुने र टिकट भएका यात्रुलाई सम्बन्धित सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाइने जनाएको छ ।

आयोगले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने व्यवस्था गरेको छ ।

साथै, मतदानको दिनमा सवारी पास वितरणका लागि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पास उपलब्ध गराउन विशेष इकाइ स्थापना गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

 पात्रो/राशिफल  रेडियो YouTube