ललितपुर - ललितपुर – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदातालाई आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।
अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकारलगायत सरोकारवालासँग निरन्तर सहकार्य गरेको छ ।
मतदान प्रक्रियालाई व्यवस्थित गर्न सरकारी संरचना (शिक्षण संस्था, स्वास्थ्यचौकी, वडा कार्यालय) प्रयोग गर्न सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवं समन्वय भइसकेको छ ।
संघीय, प्रदेश, स्थानीय तह र सबै सरोकारवाला निकायलाई आवश्यक सहयोगको व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ ।

बिजनेस पाटी