ललितपुर - ललितपुर – निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।
निर्वाचन आयोग नेपाल ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ । मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवाका साधन आदि), सुरक्षा निकायका सवारीसाधन तथा निर्वाचन पास प्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधनमा रोक लगाइनेछ।
मतदानको मितिभन्दा सातदिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालय लाई पत्र पठाउने निर्णय गरिएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिताको पालना गराउने र उल्लङ्घन भए कारबाही गर्ने व्यवस्था मिलाइएको छ । उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन निर्देशन दिइएको छ।
मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालन रहनेछन् । यात्रुहरूले विमानस्थल जान र आउन एयरलाइन्स वा सम्बन्धित सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।
मतदानको ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन पनि आयोगले गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ ।
मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नागरिकता लगायतका कागजातमध्ये कुनै एउटा लिएर मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सवारी पास वितरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं मा पास वितरण इकाई खडा गरिनेछ ।

बिजनेस पाटी