ललितपुर - ललितपुर – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको छ ।
आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले गरेको सर्वेक्षण अनुसार करिब ५५ प्रतिशत मतदातामा आगामी चुनावप्रति उत्साह देखिएको छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले आममतदातामा ठूलो उत्साह रहेको जियोकका महासचिव कृष्णमान प्रधानले बताउनुभयो । सर्वेक्षणमा सोही प्रदेशमा निर्वाचनप्रति सवैभन्दा बढी ७९.२ प्रतिशत विश्वास रहेको देखिएको छ ।
नवयुवा पुस्ताले यस निर्वाचनलाई विगतको भन्दा फरक मानेका छन् भने आमतमतदाता तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा ढुक्क रहेको जियोकले उल्लेख गरेको छ ।
सर्वेक्षणमा सहभागी ३४ प्रतिशत मतदातामा उच्च राजनीतिक प्रभाव र ५० प्रतिशतमा मध्यम प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ । जेनजी आन्दोलनको प्रभावले विगतको तुलनामा चुनावी नतिजामा केही फेरबदल गर्ने अनुमान गरिएको छ ।
निर्वाचनको सफलतामा शान्ति र सुरक्षा चुनौतीका रूपमा रहेको भए तापनि बन्दै गएको चुनावी वातावरणले अन्य कुरालाई पन्छाउँदै लगेको छ।
सर्वेक्षणमा सहभागी २१ प्रतिशत मतदाताले सामाजिक सञ्जालको प्रभाव स्वीकार गरेका छन्, लैङ्गिक रूपमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला प्रभावित देखिएका छन् ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी तुल्याउन पैसा र पहुँचको दुरुपयोग सबैभन्दा ठूलो चुनौतीका रूपमा औँल्याइएको छ ।
भ्रामक सूचनाले निर्वाचन सुरक्षामा नकारात्मक असर पार्न सक्ने भएकाले रोकथाममा ध्यान दिनुपर्ने प्रतिवेदनमा जोड दिइएको छ ।
जियोकको प्रतिवेदनमा निर्वाचन मिति नजिकिँदै गर्दा आवश्यक वातावरण बनेको, मतदातामा उत्साह बढेको, नयाँ राजनीतिक शक्तिको उदय सङ्केत देखिएको तथा सुधारको सम्भावना प्रशस्त रहेको उल्लेख छ ।

बिजनेस पाटी