ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कास्कीमा निर्वाचन कार्यालयले आन्तरिक तयारीलाई तीव्र बनाएको छ । दलहरू मतदाता रिझाउन व्यस्त रहँदा कार्यालयले मतदानलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन खटिने कर्मचारी, पठाइने सामग्री र अन्य व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ ।
निर्वाचन आचारसंहिताको कार्यान्वयन र जिल्लास्थित सरोकारवाला निकायसँगको अन्तरक्रिया सम्पन्न भएसँगै तयारीलाई तीव्रता दिइएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लाका तीन निर्वाचन क्षेत्रका ३६३ मतदान केन्द्र र १५३ मतदानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन, सामग्री वितरण र स्थलगत अनुगमनको काम भइरहेको छ। उहाँका अनुसार निर्वाचनमा मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायत ५३ प्रकारका सामग्री प्रयोग हुनेछन् ।
स्वयंसेवकसहित करिब तीन हजार कर्मचारी खटाउने तयारी भइरहेको र माघ २५ भित्र खटाउन सकिने कर्मचारीको विवरण कार्यालयमा पेश गर्न भनिएको न्यौपानेले जानकारी दिनुभयो । साथै मतदाता शिक्षालाई अघि बढाउन आयोगबाट जारी हुने कार्यविधि अनुसार तयारी अघि बढ्नेछ ।
कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा हाल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया