ललितपुर – निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले थप नौ जनासँग स्पष्टीकरण माग गरेको छ । शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरिसकेको आयोगले आइतबार र सोमबार थप नौ जनालाई पत्राचार गरेको हो ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापामाथि स्पष्टीकरण सोधिएको छ । बाजुराको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको ठेक्का लिएको पिएस बानियाँ जेभीको विषय जोड्दै बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको र सामाजिक सञ्जालमा समेत त्यससम्बन्धी सामग्री पोष्ट गरेको उजुरी आयोगमा परेको उहाँले जानकारी दिनुभयो । उक्त उजुरीका आधारमा मुख्यमन्त्री बानियाँप्रति अपमानजनक, धम्कीपूर्ण तथा अशोभनीय अभिव्यक्ति दिएको हो वा होइन ? साथै आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ को पालना गरिएको छ वा छैन ? भनी उम्मेदवार थापासँग स्पष्टीकरण माग गरिएको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च) तथा दफा २५ को उपदफा (१) का खण्ड (च) र (ज) अनुसार उम्मेदवार थापालाई तीन दिनभित्र जवाफ पेस गर्न भनिएको प्रवक्ता जिसीले बताउनुभयो । यसैबीच निर्वाचन उम्मेदवार लक्षित भ्रामक तथा अमर्यादित सामग्री प्रकाशन–प्रसारण गर्ने व्यक्ति र सञ्चारमाध्यममाथि आवश्यक कारबाहीका लागि आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।
यस्तै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहसँग आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेन्द्र शाहका पक्षमा भोट माग्दै गरेको दृश्य तथा श्रव्य सामग्री प्राप्त भएपछि पुनः स्पष्टीकरण माग गरिएको आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवार शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के कस्तो अवस्था हो ? भनी आयोगले स्पष्टिकरण माग गरेको हो । शाहलाई समेत तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीलाई प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर निर्वाचन आचारसंहिताविपरीत दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको आरोपमा स्पष्टीकरण सोधिएको छ । उजुरीमा उल्लेखित कार्य सत्य भएमा सम्बन्धित जिल्ला कार्य समितिलाई प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनी आयोगले प्रश्न गरेको छ । सोही विषयमा आयोगले उक्त क्षेत्रका उम्मेदवार माधव सापकोटासँग पनि स्पष्टीकरण माग गरेको छ ।
त्यसैगरी आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीसँग पनि स्पष्टीकरण सोधेको छ । हालसम्म आयोगले माग गरेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको प्रवक्ता जिसीले जानकारी दिनुभयो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया