२०८२ चैत्र २१ | Apr 04, 2026

गण्डकीमा एमाले र नेकपाले एक सिट पनि जितेनन्

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
816 views

ललितपुर । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्, जसका कारण प्रदेशबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा भने गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो ।

अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस यसपटक दुई सिटमा सीमित रह्यो । विसं २०७९ को चुनावमा बागलुङ–१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भएको छ ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ क्षेत्रमा विजयी बन्न सफल भयो । म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवार विजयी भएका हुन् ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बन्नुभयो । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा नेपाली कांग्रेसकै टेकबहादुर गुरुङ विजयी हुनुभयो ।

रास्वपाले प्रदेश राजधानी कास्कीसहित अधिकांश जिल्लामा जित निकालेको छ । कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ विजयी बन्नुभयो ।

बागलुङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भए । बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा विजयी बन्नुभयो ।

स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने । स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे संसद्मा पुग्नुभएको हो ।

तनहुँका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भए । तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी बन्नुभयो ।

त्यस्तै नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बन्नुभयो । लमजुङमा धर्मराज केसीपर्वतबाट सागर भुसाल विजयी हुनुभयो ।

गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित हासिल गर्यो । गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी बन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया