सुदूरपश्चिम, कर्णाली र कोशीमा निर्वाचन सामग्री र मतपत्र ढुवानी सम्पन्न: आयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ९
|
459 views

ललितपुर - ललितपुर – निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्रसहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने काम तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ ।

अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानी भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ ।

पहिलो हुने निर्वाचित प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गरी प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ ।

आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो । त्यसपछि नियमित रूपमा सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी गरिएको थियो ।

यस्तै, वाग्मती सहित अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानी भइरहेको छ । आयोगले राजधानी काठमाडौंभित्रका मतदान केन्द्रमा पनि केही दिनभित्र सामग्री पुर्याइने जानकारी दिएको छ ।

आयोगले मतपत्र बाहेकका अन्य ५१ प्रकारका निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको उल्लेख गरेको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेन्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । यस क्रममा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरिएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म सम्पन्न भएको थियो । यसमा दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरिएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube