निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
459 views

ललितपुर - ललितपुर – निर्वाचन आयोगले निर्वाचनलाई बढी सहभागीमूलक बनाउने र बदर मत घटाउने उद्देश्यले देशव्यापी मतदाता शिक्षा कार्यक्रम तीव्र रूपमा सञ्चालन गरिरहेको जनाएको छ ।

आयोगका अनुसार फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित छन् । उनीहरूले बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया र मताधिकारको महत्वबारे जानकारी गराइरहेका छन् । कार्यक्रमको अनुगमनका लागि स्थानीय तहका सम्पर्क व्यक्तिलाई जिम्मेवारी दिइएको छ ।

यसैबीच, आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन, मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिविरुद्ध कडाइ गरेको जनाएको छ । निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय रहेको छ ।

आयोगका अनुसार २९० कन्टेन्ट उत्पादकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । साथै, ११ वटालाई दूरसञ्चार प्राधिकरण, ६५ वटालाई प्रेस काउन्सिल, नेपालएक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube