ललितपुर – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो ३९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । सप्ताहव्यापी रूपमा आयोजना गरिएको कार्यक्रमको समापन काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिक काठमाडौं मा गरिएको थियो ।
समापन समारोहमा कम्पनीकी अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गर्नुभयो । उहाँले कम्पनीलाई अग्रस्थानमा पुर्याउन योगदान दिने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। सेवाग्राहीलाई उच्चस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गर्दै व्यवसाय विस्तार गर्ने लक्ष्यअनुसार कम्पनीले कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिएको उहाँको भनाइ थियो ।
यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इण्टेलिजेन्स (AI) सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जानकारी दिँदै यस्ता तालिम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताइएको छ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा अन्य सरोकारवालाको साथ र सद्भावका कारण कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो। साथै नियामक निकाय तथा सम्बन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्पनीले तारकेश्वरस्थित मातृ नेपाल बालगृहमा शैक्षिक सामग्री वितरण गर्नुका साथै बालबालिकालाई भोजन गराएको थियो। रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको कम्पनीले जनाएको छ। देशभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले वृद्धाश्रम, बालकल्याण तथा मानव सेवा संस्थामा समेत सामाजिक कार्यक्रम आयोजना गरेका थिए ।
कर्मचारीहरूको शारीरिक तथा मानसिक सुदृढताका लागि अन्तरकर्मचारी खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो। पुरुष तथा महिला क्रिकेट, फुटसल, टेबल टेनिस र बुद्धिचाललगायतका प्रतियोगिता सम्पन्न गरिएका थिए ।
समापन समारोहमा विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाणपत्र वितरण गरिनुका साथै रक्तदान र सांस्कृतिक कार्यक्रममा सहभागी कर्मचारीलाई सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया