ललितपुर – नेपाल राष्ट्र बैंकले आगामी चैतमा ‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाउने तयारी थालेको छ । मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) सम्म सञ्चालन हुने यस अभियानको उद्देश्य बालबालिका र युवामा वित्तीय साक्षरता बढाउँदै वित्तीय ज्ञान, सिप र सकारात्मक वित्तीय व्यवहार विकास गर्नु हो ।
ओइसीडी को संयोजनमा सन् २०१२ देखि विश्वभर मनाइँदै आएको ग्लोबल मनी विक हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवासम्म पुगिसकेको छ। वित्तीय चेतना अभिवृद्धि गरी जिम्मेवार आर्थिक निर्णय क्षमता विकास गर्नु अभियानको मुख्य लक्ष्य हो ।
नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंक ले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै कार्यक्रम सञ्चालन गर्नेछ। वित्तीय प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाको सक्रिय सहभागितामा विभिन्न सचेतनामूलक कार्यक्रम, कार्यशाला र छलफल आयोजना गरिने बताइएको छ । वित्तीय साक्षरता बढेमा व्यक्तिगत आर्थिक निर्णय सुदृढ भई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विज्ञहरूको धारणा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया