
ललितपुर - वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ ।
भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाउने गरिएको जानकारहरू बताउँछन् । धार्मिक मान्यताअनुसार नृसिंह अवतार भगवान् विष्णुको चौथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको वध गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नु परेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
हिन्दु धर्म ग्रन्थमा उल्लेख भएअनुसार कष्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुई बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए । ठूलो भएपछि दुवैले जताततै उप्रद्रो मच्चाउन थाले । हिरण्याक्षलाई भगवान् विष्णुको तेस्रो अवतार बराह भगवान्ले मार्नुभएको थियो । हिरण्यकश्यपुले ब्रह्माजीको घोर तपस्या गर्दा हिरण्यकश्यपुको शरीरबाट आगोको ज्वाला निस्कन्थ्यो । यो देखेर ब्रह्माजीले हिरण्यकश्यपु भएको ठाउँमा गएर इच्छाअनुसार वरदान माग्ने आज्ञा गर्नुभयो । यो सुनेर हिरण्यकश्यपुले ब्रह्माजीसँग अमर रहने वरदान मागे । ब्रह्माजीले जन्मेपछि मर्नैपर्ने सृष्टिको नियम भएकाले अरू वर माग्ने आज्ञा गर्नुभयो ।
यो सुनेर हिरण्यकश्यपुले घरको बाहिर घरको भित्र, रातिको अँध्यारो, दिनको घाममा, आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गन्धर्वबाट, देवताबाट, कसैको हातबाट र हतियारबाट नमर्ने वरदान मागेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रह्माजीले हिरण्यकश्यपुको तपस्या घोर भएकाले मागेको वरदान दिनुभयो । ब्रह्माजीको वरदान पाएर हिरण्यकश्यपु अमर भयो ।

बिजनेस पाटी
















