ललितपुर – नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी) बीच चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ चार बुँदे समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । आज बोर्डको सभाहलमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गर्नुभयो ।
समझदारीपत्र अनुसार नेपाल आगामी वर्ष विसं ३०८३ को वैशाखमा हुने कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउनेछ। यससँगै पोखरामा अन्तरराष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन र चलचित्र पर्यटनसम्बन्धी प्रवद्र्धन सामग्री उत्पादन गरिनेछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले चलचित्र छायाङ्कन भएपछि ती स्थान स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धित हुने बताउँदै यसलाई लामो यात्राको सुरुवात ठाने। बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाललाई ‘ल्याण्ड अफ मेमोरेबल स्टोरिज्’का रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए ।
समझदारीपत्रमा प्रेरित यात्रा (सेट–जेटिङ) प्रवद्र्धन, अन्तरराष्ट्रिय प्रदर्शनीमा संयुक्त प्रवद्र्धन, नेपाललाई श्रवयदृश्य उत्पादनका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने, पूर्वाधार विकास र प्रवद्र्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।
नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठराज पराजुलीले यो सम्झौताले नेपाललाई क्षेत्रीय र विश्व पर्यटन नक्सामा मजबुत रूपमा स्थापित गर्ने रणनीतिक कदम भएको बताए। विश्वव्यापी रूपमा चलचित्र पर्यटनको गति लिइरहेकाले नेपालले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई पर्दामार्फत विश्वसामु प्रस्तुत गर्दै पर्यटन आगमन वृद्धि गर्ने लक्ष्य लिएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया