नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा अब ६० सेकेन्डको पल्स दर

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ९
|
204 views

ललितपुर - नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलमा लाग्ने पल्स दर परिवर्तन गरेको छ । अब नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी विदेशमा कल गर्दा सबै देशमा ६० सेकेन्डको पल्स दर लागू हुने भएको छ ।

यसअघि अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब त्यसलाई बढाएर ६० सेकेन्ड पुर्‍याइएको नेपाल टेलिकमले जनाएको छ। नयाँ व्यवस्था २०८३ मंसिर ८ गतेदेखि लागू हुनेछ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको २०८३ भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिबमोजिम पल्स दर परिवर्तन गरिएको टेलिकमले जनाएको छ ।

    नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ प्रयोग गरी सबै देशका दूरसञ्चार सेवा प्रदायकको नम्बरमा कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।

      यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार स्वीकृति प्राप्त ५८ देशमा ६० सेकेन्डको पल्स दर लागू भइसकेको थियो । अब भने बाँकी देशमा समेत नयाँ व्यवस्था लागू हुन लागेको हो ।

      नेपाल टेलिकमले विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्न छुट्टाछुट्टै एक्सेस कोडको व्यवस्था गरेको छ । विदेशमा कल गर्दा सुरुमा एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड र अन्त्यमा सेवा प्रदायकको फोन नम्बर डायल गर्नुपर्नेछ ।

      विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने शुल्क तथा दररेट नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

      नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले प्रेस विज्ञप्तिमार्फत नयाँ पल्स दरबारे जानकारी दिएका हुन् ।

       पात्रो/राशिफल  रेडियो YouTube