नेपाल टेलिकम को प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध हुने भएको छ । कम्पनीले ती देशका ८९ सेवा प्रदायकसँग सम्झौता विस्तार गरेसँगै यो सुविधा थप देशहरूमा पुगेको हो ।
चालु आर्थिक वर्षको साउन महिनापछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओस का विभिन्न सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ । साथै पाकिस्तान, बेलारुस र श्रीलंका मा थप सेवा प्रदायकसँग सहकार्य विस्तार गरिएको छ ।
नेपाल टेलिकमले यसअघि नै अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चीन, भारत, जापान, कतार, यूएई, युके र अमेरिका लगायतका देशहरूमा पनि रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
रोमिङ सेवामार्फत प्रयोगकर्ताले विदेशमा समेत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् । आगामी दिनमा थप देशहरूमा पनि यो सेवा विस्तार गरिने कम्पनीले जनाएको छ ।
विदेश जाने वा बस्ने नेपालीहरूका लागि नेपाल टेलिकमको रोमिङ सेवा अत्यन्त उपयोगी मानिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि भारतबाहेक अन्य देशहरूमा रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ भने भारतका लागि भने 14157# डायल गरी ‘Roaming’ विकल्प चयन गर्नुपर्ने हुन्छ ।
पोस्टपेड प्रयोगकर्ताका हकमा सेवा सुचारु गर्न कम्तिमा ५ हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्नेछ । नेपालमै रहँदा 14157# डायल गरी सेवा एक्टिभ गर्न सकिन्छ ।
यदि प्रयोगकर्ताले नेपालमा हुँदा सेवा सक्रिय नगरी विदेश पुगेमा इमेलमार्फत पनि रोमिङ सेवा सक्रिय गर्न सकिने व्यवस्था रहेको छ । यसका लागि नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट फारम डाउनलोड गरी आवश्यक कागजातसहित सम्बन्धित इमेलमा पठाउनुपर्ने हुन्छ ।
सामान्यतया रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा कनेक्ट हुने भए पनि भारत मा भने म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया