नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक, पोस्टपेड र प्रिपेडमा नयाँ डाटा तथा भ्वाइस प्याक

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १२
|
969 views

ललितपुर -

नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड ग्राहकका लागि विभिन्न नयाँ डाटा, भ्वाइस र एसएमएस प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले केही नयाँ सुविधा थप गर्दै यसअघि सञ्चालनमा रहेका लोकप्रिय प्याकेजलाई पनि निरन्तरता दिएको जनाएको छ ।

    पोस्टपेड ग्राहकका लागि ३० दिन समयावधिको ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ उपलब्ध गराइएको छ । ३७३ रुपैयाँको प्याकमा ६ जीबी डाटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । त्यस्तै, ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट भ्वाइस कल र १०० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ ।

    पोस्टपेडको सजिलो अनलिमिटेड प्याकमा पनि थप सुविधा समावेश गरिएको छ । ६९९ रुपैयाँको प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध हुनेछ । त्यस्तै, ७९९ रुपैयाँमा दैनिक १० जीबीका दरले ३०० जीबी डाटा, अनलिमिटेड भ्वाइस र २५० एसएमएस तथा ९९९ रुपैयाँमा दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा, अनलिमिटेड भ्वाइस र ३०० एसएमएस सुविधा उपलब्ध हुनेछ ।

    बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि १ हजार ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५०० जीबी डाटा र ३५० एसएमएस उपलब्ध हुनेछ । १ हजार ९९९ रुपैयाँको एक्जिक्युटिभ प्याकमा अनलिमिटेड भ्वाइस, अनलिमिटेड डाटा र ५०० एसएमएस सुविधा दिइने कम्पनीले जनाएको छ ।

      प्रिपेड ग्राहकका लागि पनि नयाँ डाटा प्याक थप गरिएको छ । ९९ रुपैयाँमा एक दिनका लागि ८ जीबी डाटा र १९९ रुपैयाँमा सात दिनका लागि २० जीबी डाटा उपलब्ध हुनेछ ।

      त्यस्तै, सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई पनि थप आकर्षक बनाइएको छ । ९९९ रुपैयाँको प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस कल, दैनिक १५ जीबीका दरले मासिक ४५० जीबी डाटा र ३०० अल–नेट एसएमएस उपलब्ध हुनेछ । १ हजार ४९९ रुपैयाँको प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस कल, मासिक ५०० जीबी डाटा र ३५० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

      स्वतः नवीकरण हुने सब्स्क्रिप्सनअन्तर्गत उपलब्ध नमस्ते रिकरिङ २९९, ४९९ र ७९९ प्याकसँगै अब नमस्ते रिकरिङ ६९९ प्याक पनि सञ्चालनमा ल्याइएको छ । कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गतका प्याकेजमा समेत नयाँ आकर्षक सुविधा थप गरिएको कम्पनीले जनाएको छ ।

      नेपाल टेलिकमले नमस्ते क्रेडिट अर्थात् सापटी सेवामा पनि परिमार्जन गरेको छ । साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम ३० रुपैयाँ कायम गरिएको छ । उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस तथा एसएमएस प्याक खरिद गर्न सकिनेछ ।

      प्रिपेड ग्राहकले मोबाइलबाट *1415# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत सापटी सेवा लिन सक्नेछन् । विभिन्न प्याकेजको जानकारी लिन तथा सेवा खरिद गर्न *1415# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

      नेपाल टेलिकमका अनुसार मनसुन अफर २०८३ साउन १२ गतेदेखि लागू भएको छ । कम्पनीले भ्वाइस, डाटा, बन्डल्ड, एड–अन, एसएमएस तथा एफटीटीएचलगायतका अन्य विभिन्न प्याकेज पनि उपलब्ध रहेको जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube