ललितपुर - ललितपुर – ओमप्रकाश अर्याल ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सुरक्षा अवस्थाबारे जानकारी लिन आज नेपालगञ्ज पुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्ने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
बाँके जिल्लामा आयोजित पत्रकार सम्मेलनमा उनले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए। “सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ, निर्धक्क भएर मतदान गर्न सबैसँग अनुरोध गर्दछु, उनले भने ।
जिल्लास्थित सुरक्षा प्रमुखहरूसँगको भेटपछि गृहमन्त्रीले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतसहित सम्बन्धित निकायको तयारी सन्तोषजनक रहेको जानकारी दिए। देशव्यापी रूपमा निर्वाचनको माहोल बनेको उल्लेख गर्दै उनले उच्च जनसहभागितासहित शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।
कहीँकतैबाट निर्वाचन बिथोल्ने प्रयास हुनसक्ने भन्दै उनले कानुनविपरीत गतिविधिमा संलग्न समूहलाई नियन्त्रणमा लिएर कडा कारबाही गरिने चेतावनी दिए । मताधिकार जस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध गर्नेहरूलाई कानुनी दायरामा ल्याइनेछ, उनले जोड दिए ।
बाँकेमा कायम धार्मिक सहिष्णुताको प्रशंसा गर्दै गृहमन्त्री अर्यालले गलत तत्वलाई समयमै पहिचान गरी रोकथाम गर्न स्थानीय नेतृत्व सफल भएको बताए । ‘जेनजी’ आन्दोलनका घटनाबारे विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेको जानकारी पनि उनले दिए ।
गृहमन्त्री अर्यालको भ्रमण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायत उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी थिए ।

बिजनेस पाटी