निर्वाचन स्वच्छ र भयरहित हुन्छ : गृहमन्त्री अर्याल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
612 views

ललितपुर - ललितपुर – गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।

बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षणका क्रममा उहाँले विगतका कमजोरी सच्याएर यसपटक धाँधलिरहित निर्वाचन गराइने बताउनुभयो । सम्बद्ध अधिकारीलाई शान्तिपूर्ण वातावरण बनाउन निर्देशन पनि दिनुभयो ।

सामाजिक सञ्जालमा फैलिने मिथ्या सूचना र दुष्प्रचारबाट सचेत रहन र आ–आफ्नो निर्वाचन तयारीमा जुट्न उहाँले आग्रह गर्नुभयो ।

निरीक्षण टोलीमा रामप्रसाद भण्डारीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो । निर्वाचन सुरक्षाबारे छलफल गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना लगायतले सुरक्षा योजनाबारे जानकारी गराएका थिए । विगतका संवेदनशील घटना ध्यानमा राखेर नाकामा कडाइ गरिएको जनाइएको छ ।

भयरहित निर्वाचनका लागि सुरक्षा योजना प्रभावकारी बनाइने र विगतका समस्याबाट पाठ सिकेर तयारी अघि बढाइएको अधिकारीहरूको भनाइ छ ।

बैतेश्वर गाउँपालिकामा आठ मतदानस्थल, २१ मतदान केन्द्र र १८ हजार ४२२ मतदाता रहेका छन्, जहाँ मत खस्ने दर ९० देखि ९५ प्रतिशतसम्म हुने गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube