पर्वत। यस वर्ष पर्वत जिल्लाबाट करिब ३२ करोड पाँच लाख रुपैयाँ मूल्य बराबरको सुन्तला निर्यात गरिएको छ। कृषि विकास कार्यालयका अनुसार जिल्लाको बाँसखर्क क्षेत्रबाट मात्र २० करोडको सुन्तला निर्यात भएको छ भने अन्य क्षेत्रहरू—पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, देउपुर, बाजुङ, चित्रे, फलेवास लगायत-बाट बाँकी निर्यात भएको हो ।
कुल तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएको र कृषकले प्रतिकिलो रु ९५–१२० मूल्यमा बिक्री गरेको जानकारी कार्यालयले दिएको छ ।
व्यावसायिक सुन्तलाखेती गर्ने किसान यस वर्ष मूल्य उच्च हुनुमा खुसी छन्। सडक पहुँच भएपछि व्यापारीहरूले बगैँचामा नै आउँदै सुन्तला किनेका छन् भने किसान आफैं काठमाडौँ, पोखरा, नारायणगढलगायत बजारमा बिक्री गर्न सक्षम भएका छन्। फलेवास–११ का रामप्रसाद गौतमले एउटै टोलबाट मात्र रु १–१.५ करोड मूल्यको सुन्तला बिक्री गर्न सफल भएको बताउनुभयो ।
प्रदेश सरकार र स्थानीय तहले किसानलाई तालिम, गोडमेल, विषादी उपलब्ध गराउने लगायत विभिन्न सहयोग गर्दै आएका छन्। मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले पनि सुन्तलाको बजार पहुँच सहज बनाएको छ ।
हाल पर्वतमा ४०० भन्दा बढी किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन्। जलजला, फलेवास र मोदी गाउँपालिकाका वडामा ८३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ र पछिल्लो वर्ष किसानको आकर्षण अझ बढेको छ ।











फेसबुकबाट तपाईको प्रतिक्रिया