
ललितपुर - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहीबार साँझ बजौर जिल्लाको स्काउट्स मुख्यालयमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रारम्भिक जानकारीअनुसार विस्फोटक पदार्थले भरिएको गाडी मुख्य गेटमा ठोक्किएपछि ठूलो विस्फोट भएको थियो । सुरक्षाकर्मीहरूले गाडी रोक्ने प्रयास गर्दा गेट र वरपरका संरचनामा समेत क्षति पुगेको बताइएको छ।
विस्फोटलगत्तै भारी हतियारधारी आक्रमणकारीहरूले गोलीबारी सुरु गरेका थिए । त्यसपछि सुरक्षा बल र आक्रमणकारीबीच केही समय दोहोरो भिडन्त भएको जनाइएको छ ।
अधिकारीहरूका अनुसार गोलीबारी कम भएपछि उद्धार तथा घाइतेको निकासी कार्य सुरु गरिएको थियो । घाइते सैनिकलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ ।
सुरक्षा स्रोतका अनुसार गोली हानाहानका क्रममा केही आक्रमणकारी पनि मारिएका छन् । हाल सुरक्षा बलले क्षेत्रमा सुरक्षा अपरेसन जारी राखेको छ। घटनाको जिम्मेवारी भने अहिलेसम्म कुनै समूहले लिएको छैन ।

बिजनेस पाटी