ललितपुर - ललितपुर – प्रहरीले टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा धोवनी–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट बेलकोटगढी–१ का २९ वर्षीय निरोज पुडासैनी रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार उनीहरू ब्राउनसुगर करिब २२ ग्राम १८ मिलिग्रामसहित पक्राउ भएका हुन् । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
त्यसैगरी, लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई पनि नियन्त्रणमा लिइएको छ । काठमाडौंको नागढुङ्गामा लापसे चेकिङको क्रममा यातायातमा खटिएको संयुक्त टोलीले यात्रुवाहक हाइस चालक तीन, बस चालक दुई, ट्रक चालक एक र पिकअप भ्यान चालक एक लाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

बिजनेस पाटी