देशभर वर्षा र असिना, सङ्खुवासभामा सबैभन्दा धेरै पानी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
408 views

ललितपुर - ललितपुर – पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रभन्दा मध्य र पूर्वी क्षेत्रमा बढी वर्षा भएको छ । काठमाडौँको जरसिंहपौवासहित नुवाकोटको ककनीलगायत विभिन्न स्थानमा असिना परेको छ ।

विभागमा साँझ अभिलेख भएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सङ्खुवासभामा ३६.८ मिलिमिटर मापन गरिएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०.६, म्याग्दीमा १०.६, प्यूठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२, काठमाडौँमा २.६, भक्तपुरमा ३.४ र दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ ।

अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा कम वर्षा भएको जनाइएको छ । केही स्थानमा असिनासहित वर्षा भएको थियो । विभागका अनुसार भोलि पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बुधबार तराई भू–भागका केही स्थानमा बिहान हुस्सु लाग्नेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ । बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube