२०८२ फाल्गुन ६ | Feb 18, 2026

महाशिवरात्रि तयारीस्वरूप पशुपति क्षेत्रमा व्यापक सफाइ, चार मेट्रिक टन फोहर व्यवस्थापन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २४
|
765 views

ललितपुर – विश्व सम्पदा सूचीमा सूचीकृत तथा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरूप व्यापक सफाइ अभियान सञ्चालन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ६६५औँ हप्तामा सूर्यघाट, आर्यघाट र राममन्दिर आसपासका स्थानमा सरसफाइ गर्दै चार मेट्रिक टन फोहर संकलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । संकलित नकुहिने फोहर काठमाडौँ महानगरपालिकाको सवारीमार्फत व्यवस्थापन गरिएको छ। भष्मेश्वरघाटदेखि ड्यामसम्म वाग्मती किनारमा फोहर बढी देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले डोजर प्रयोग गरी थप सफाइ गर्ने सहमति जनाएको छ ।

आजको कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनलगायत अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो । आगामी शनिबार पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा पशुपति क्षेत्रमा नै सफाइ जारी रहनेछ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार निरन्तर सञ्चालन हुँदै आएको छ । भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता कठिन अवस्थामा समेत नरोकिने यो अभियान चाडपर्व, जाडो वा वर्षाका बीच पनि नियमित रूपमा जारी छ । देशका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित अभियानकर्मीहरू हरेक हप्ता वाग्मती किनारमा भेला भई सफाइ गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया