२०८२ फाल्गुन ६ | Feb 18, 2026

महाशिवरात्रि तयारी तीव्र: पशुपतिनाथ मन्दिरमा सरसफाइ, रङरोगन, सुरक्षा र साधु–सन्तको आगमन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २६
|
714 views

ललितपुर – यस वर्षको महाशिवरात्रि २०८२ लाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ र पूर्वाधार सुधारका काम सुरु गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज र सुरक्षित दर्शनको व्यवस्था गर्न विशेष सरसफाइ, व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, यातायात र प्रचार–प्रसारका काम अघि बढाएको जनाएको छ ।

महाशिवरात्रि तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरिएको छ । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिँदै भन्नुभयो, महाशिवरात्रिको तयारीका लागि समिति पूर्ण रूपमा सक्रिय छ । साधु–सन्त, भक्तजन तथा दर्शनार्थीलाई सुविधा पु¥याउने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारलगायत क्षेत्रमा काम भइरहेको छ ।

महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको छ । प्रवक्ता जोशीका अनुसार, सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा तयारीलाई तीव्रता दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिले पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्य राखेको छ ।

यसैगरी, देशका विभिन्न भू–भाग र छिमेकी भारतबाट साधु–सन्तहरू पशुपतिनाथ क्षेत्रमा आइपुगी धुनी स्थापना, ध्यान, तपस्या र साधनाका लागि तयारी गरिरहेका छन् । विभिन्न अखडा र सम्प्रदायका साधु–सन्तहरूले पशुपति क्षेत्रका विभिन्न स्थानमा ध्यान, तपस्या र साधनाका लागि धुनी तयार गरिरहेका छन् ।

महाशिवरात्रि यस वर्ष फागुन ३ गते परेको छ। पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि तीव्र रूपमा बढ्दै गएको छ । साधु–सन्तहरूको आगमनसँगै भक्तजनको आवागमन पनि बढ्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व भएकाले स्वदेशी तथा विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । पर्वलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया