
ललितपुर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाएको छ ।
मन्त्रालयका अनुसार मन्त्रिस्तरीय निर्णयमार्फत पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ अनुसार नयाँ नियमावली जारी गरिएको हो ।
कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री खड्कराज पोडेल (गनेस) ले नयाँ नियमावली जारी गरेका हुन्।मन्त्रालयका प्रवक्ता जयनारायण आचार्य का अनुसार नयाँ नियमावलीअनुसार अब कोषमा कार्यकारी निर्देशकको पद रहने छैन ।
यसअघि ऐनले सदस्य सचिवलाई नै कार्यकारी अधिकार दिएको भए पनि वसन्त चौधरी सदस्य सचिव भएका बेला नियमावली संशोधन गरेर कार्यकारी निर्देशक पद सिर्जना गरिएको थियो ।
वि.सं. २०६० मा सुरु भएको उक्त पदमा क्रमशः रामशरण चिमौरिया, कोषप्रसाद आचार्य, रमेश उप्रेती, डा. घनश्याम खतिवडा, लक्ष्मी पुन र सुभासचन्द्र जोशी कार्यकारी निर्देशक बनेका थिए । नयाँ नियमावली लागू भएसँगै हाल कार्यरत सुभासचन्द्र जोशी पनि पदमुक्त भएका छन् ।

बिजनेस पाटी









