२०८२ फाल्गुन २ | Feb 14, 2026

पशुपतिनाथको ‘छाया दर्शन’ विशेष पूजा सहित सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १७
|
918 views

ललितपुर – पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ। पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार आज भक्तजनको लाम लाग्ने क्रममा छाया दर्शन गराइएको हो। यो पर्व प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइन्छ। हिउँद ओरालो लाग्दै गर्दा सूर्य उत्तरायणतर्फ लागेर दिन लामो र न्यानो हुन थालेको सङ्केतसँगै विश्वकै आराध्यदेव पशुपतिनाथ मन्दिरमा धार्मिक तथा रहस्यमयी घटना सम्पन्न हुन्छ ।

स्वस्थानी व्रत समापनको अघिल्लो दिन दक्षिणमुख ‘अघोर’ को छाया जलमा प्रतिविम्बित गराएर दर्शन गराउने परम्परा ‘छाया दर्शन’को रूपमा मनाइन्छ। संस्कृतिविद् श्रीकृष्ण डङ्गोलका अनुसार अघोर मुखको तेज र ऊर्जा यति प्रखर हुन्छ कि सामान्य मानव आँखाले सिधै हेर्न कठिन हुन्छ। त्यसैले जलमा प्रतिविम्बित गरेर दर्शन गराइन्छ, जुन वैज्ञानिक दृष्टिले सूर्यको तेज नहेरी पानी वा ऐनाबाट हेर्ने ‘रिफ्लेक्सन’ जस्तै विधि हो ।

त्यसैगरी, रानी भव लक्ष्मीले देवाधीदेवको शिरमा गोलाकार कुसुम फूल ‘तिकिन्छा’ चढाउने सङ्कल्प गरेकी थिइन्। तिकिन्छा बनाउने शिल्पकला बेतको संरचना र प्राकृतिक रङबाट तयार गरिन्छ। यसलाई माघ शुक्ल चतुर्दशीमा बाजागाजासहित नगर परिक्रमा गरेर पशुपतिनाथको शिरमा विराजमान गराइन्छ ।

छाया दर्शनको विधि पशुपति मन्दिरको दक्षिणपट्टिको ‘मझेरी’मा हुन्छ। जलभरिएको सो स्थानमा दिउँसोदेखि साँझको आरतीसम्म भगवान्को प्रतिविम्ब हेर्न पाइन्छ। यो दर्शन छ महिनापछि ‘पवित्रारोपण’ गरिन्छ, जसले समय र ऋतुको चक्रलाई सन्तुलनमा राख्छ ।

पशुपतिनाथको छाया दर्शन र तिकिन्छा जात्रा केवल धार्मिक विधि मात्र नभई वनस्पति विज्ञान, खगोल विज्ञान र राजकीय इतिहासका जीवन्त प्रमाण हुन्। संस्कृति संरक्षणका लागि तिकिन्छा बनाउने शिल्प र परम्परा जोगाउनु आवश्यक रहेको सांस्कृतिक विज्ञहरूले बताएका छन् ललितपुर –।

पशुपति क्षेत्रमा मनाइने यो पर्वलाई हिउँदको बिदाइ र आध्यात्मिक जागरणको अवसरका रूपमा लिइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया