घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २६
|
153 views

ललितपुर - जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच भएको सम्झौताअनुसार अब सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने व्यवस्था सुरु हुने भएको छ । सम्झौतापछि राहदानी वितरणका लागि ‘हल्कारा’ तयारी अवस्थामा रहेका छन् ।

हुलाक कार्यालयमा आएका चिठीपत्र, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ । जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सेवा सञ्चालन गरिरहेका बेला अब राहदानी पनि घरदैलोमै पुर्‍याउने तयारी थालेको हो ।

    जिल्ला हुलाक कार्यालयका प्रमुख सरोज पाण्डेयका अनुसार प्रशासन कार्यालयमा राहदानी फारम भर्दासँगै घरमै राहदानी चाहने सेवाग्राहीले छुट्टै फारमसमेत भर्न थालेका छन् ।

    उनले भने, अबको दुई सातापछि नयाँ राहदानी जिल्लामा आइपुग्नेबित्तिकै हुलाक कर्मचारीले जिल्लाभर वितरण सुरु गर्नेछन् ।

      पाण्डेयका अनुसार कञ्चनपुरका नौवटै स्थानीय तहका हुलाक कार्यालय यस कार्यका लागि तयारी अवस्थामा छन्। जिल्लाभर हुलाकी, पत्र वितरक, डाक बाहक, हुलाकी प्रतिनिधि र हल्कारासहित ५४ जना कर्मचारी कार्यरत छन् ।

      प्राप्त भएका राहदानी सेवाग्राहीको घरसम्म पुर्‍याउने काम हल्काराले गर्नेछन् उनले बताए ।

      दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरका सबै स्थानीय तहमा हुलाक कार्यालयमार्फत सेवा सञ्चालनमा रहेको जनाइएको छ । लालझाडीमा पछिल्लो समय स्थापना भएको हुलाक कार्यालय जिल्लाको कान्छो कार्यालय हो ।

      जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा लागू गरिएको हो । प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै राहदानी घरमै पुर्‍याउने सेवा सुरु भएको जानकारी दिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube