पेट्रोलियम पदार्थको खुला बिक्रीमा रोक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
714 views

ललितपुर - ललितपुर – प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रशासनले पेट्रोलियम पदार्थको खुला बिक्रीमा कडाइ गरेको छ । जिल्ला प्रशासनले पेट्रोल, डिजेल र मट्टितेल जस्ता इन्धनलाई बोतल, जर्किन वा खुला भाँडामा बिक्री गर्न पूर्ण रोक लगाएको छ ।

निर्वाचन अवधिभर पेट्रोलपम्प तथा इन्धन व्यवसायीहरू अनिवार्य रूपमा दर्ता भई कानुनी रूपमा सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ । दर्ता नभएका व्यक्ति वा संस्थालाई पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न निषेध गरिएको छ ।

त्यसैगरी, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्न, कृत्रिम अभाव सिर्जना गर्न वा अत्यधिक मौज्दात राख्न पाइने छैन । निर्वाचन प्रयोजनबाहेक अन्य काममा इन्धनको दुरुपयोग पनि निषेध गरिएको प्रशासनले जनाएको छ ।

एम्बुलेन्स, अस्पताल, सुरक्षा निकाय तथा निर्वाचनसम्बन्धी सवारीसाधनलाई मात्र आधिकारिक सिफारिस वा परिचयपत्रका आधारमा आवश्यक मात्रामा इन्धन उपलब्ध गराइनेछ । प्रशासन, सुरक्षा निकाय र नेपाल आयल निगमको समन्वयमा नियमित अनुगमन गरिने र निर्णय उल्लङ्घन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

पेट्रोलियम व्यवसायी, ढुवानी व्यवसायी तथा आमनागरिकलाई निर्णय पालना गर्न र शङ्कास्पद गतिविधि देखिएमा तत्काल सूचना दिन आग्रह गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube