ललितपुर - ललितपुर – प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनालाई स्पष्ट र त्रुटिरहित निर्देशन दिनुभएको छ ।
सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय, जङ्गी अड्डामा सुरु भएको प्रीतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका सुरक्षा संयन्त्रहरूमा देखिएका त्रुटि र रिक्तता दोहोरिन नदिन सुझाव दिनुभयो ।
यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका निर्वाचन अनुभव र आसन्न निर्वाचनका विविध आयामको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस् उहाँले भन्नुभयो
सरकारबाट स्वीकृत ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनाले प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गबाट सम्पादन गर्नेमा पूर्ण विश्वस्तता व्यक्त गर्नुभयो ।
जनतालाई सुरक्षाको प्रत्याभूति दिनुका साथै सबै राजनीतिक दलको गतिविधि बिना अवरोध सञ्चालन हुन सक्ने वातावरण सिर्जना गर्नु अत्यावश्यक छ । यसका लागि अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजना बनाइ अघि बढ्न सेनालाई निर्देशन दिइएको छ ।
कार्कीको निर्देशनले निर्वाचन सुरक्षा व्यवस्था मजबुत बनाउने, सुरक्षा निकायबीचको समन्वय सुधार गर्ने र सार्वजनिक विश्वास कायम राख्ने लक्ष्य राखिएको विश्लेषकहरूले बताएका छन् ।
यो कदम आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने दिशामा महत्त्वपूर्ण ठहरिएको छ ।

बिजनेस पाटी