
ललितपुर -
कपिल किशोर घिमिरे
म
पिरदेखि पर
पीडादेखि पर
हाँसो खुसीदेखि पर
दुख दर्ददेखि पर
किन कि
म चितामा सुतेको मान्छे।
मलाई कुनै चिन्ता छैन
कसैले गाली गरोस्
कसैले घृणा गरोस्
मैले नगरेको काममा दोष देओस्
या जे मन लाग्छ त्यही भनोस्
किन कि
म चितामा सुतेको मान्छे।
मेरो भावना मरेको छ
कसरी बाँचोस् मेरो म नै मरेपछि
कानले सुन्न छोडेका छन्
आँखाले देख्न छोडेका छन्
मुख बन्दछ जिब्रो आफैँ थला परेको छ
किन कि
म चितामा सुतेको मान्छे।
मेरा हातहरू चल्दैनन्
खुट्टाहरू निष्क्रिय छन्
स्वासप्रस्वास बन्द छ
बोली बन्द छ
अङ्गप्रत्यङ्ग सब बन्द छन्
किन कि
म चितामा सुतेको मान्छे।
मेरा रहरहरू मरेका छन्
मेरा कहरहरू केही छैनन्
म शून्य थिएँ
शून्य छु
किन कि
म चितामा सुतेको मान्छे।
मलाई परंआनन्द छ
म आनन्दको अन्तिम सीमामा छु
यो भन्दा आनन्दको कल्पना गर्न सक्दिनँ
निद्राको अन्तिम क्षण चिरनिद्रामा छु
किन कि
म चितामा सुतेको मान्छे।

बिजनेस पाटी