म चितामा सुतेको मान्छे

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३०
|
306 views

ललितपुर -


कपिल किशोर घिमिरे


    पिरदेखि पर
    पीडादेखि पर
    हाँसो खुसीदेखि पर
    दुख दर्ददेखि पर
    किन कि
    म चितामा सुतेको मान्छे।

    मलाई कुनै चिन्ता छैन
    कसैले गाली गरोस्
    कसैले घृणा गरोस्
    मैले नगरेको काममा दोष देओस्
    या जे मन लाग्छ त्यही भनोस्
    किन कि
    म चितामा सुतेको मान्छे।

      मेरो भावना मरेको छ
      कसरी बाँचोस् मेरो म नै मरेपछि
      कानले सुन्न छोडेका छन्
      आँखाले देख्न छोडेका छन्
      मुख बन्दछ जिब्रो आफैँ थला परेको छ
      किन कि
      म चितामा सुतेको मान्छे।

      मेरा हातहरू चल्दैनन्
      खुट्टाहरू निष्क्रिय छन्
      स्वासप्रस्वास बन्द छ
      बोली बन्द छ
      अङ्गप्रत्यङ्ग सब बन्द छन्
      किन कि
      म चितामा सुतेको मान्छे।

      मेरा रहरहरू मरेका छन्
      मेरा कहरहरू केही छैनन्
      म शून्य थिएँ
      शून्य छु
      किन कि
      म चितामा सुतेको मान्छे।

      मलाई परंआनन्द छ
      म आनन्दको अन्तिम सीमामा छु
      यो भन्दा आनन्दको कल्पना गर्न सक्दिनँ
      निद्राको अन्तिम क्षण चिरनिद्रामा छु
      किन कि
      म चितामा सुतेको मान्छे।

       पात्रो/राशिफल  रेडियो YouTube