सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वायात्मक बैठक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
459 views

ललितपुर - ललितपुर – सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच बाहिनीस्तर (डिआइजी तह) को समन्वयात्मक बैठक भारतको चम्पावत मा सम्पन्न भएको छ । बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचन सन्दर्भमा सीमा क्षेत्रमा हुन सक्ने अवैध घुसपैठ, चोरी निकासी र लागूऔषध ओसारपसार नियन्त्रणबारे विस्तृत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बैठकले निर्वाचनका बेला सम्भावित विरोधी गतिविधि रोक्न, घुसपैठ नियन्त्रण गर्न र मौन अवधि (सिलिङ) मा सीमा बन्दको प्रभावकारिता बढाउन सहकार्य गर्ने निर्णय गरेको छ । सूचना आदानप्रदान र अवैध गतिविधिमाथि सूक्ष्म निगरानी बढाउने विषयमा दुवै पक्ष सहमत भएका छन् । संयुक्त तथा समानान्तर सीमा गस्तीलाई सशक्त बनाउने र सुरक्षा व्यवस्थालाई चुस्त पार्नेबारे छलफल भएको थियो ।

अवैध प्रवेश, मानव बेचबिखन, लागूऔषध, जाली नोट, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्न मातहतका युनिटलाई निर्देशन दिने सहमति पनि भएको छ ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । भारतीय पक्षबाट सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआइजी सुधान्सु नौटियालअनिलकुमार शर्मासहित सीमा क्षेत्रमा कार्यरत रेजिमेन्ट प्रमुखहरूको उपस्थिति रहेको थियो ।

नेपाल र भारतबीच केन्द्रीय, प्रदेश र जिल्लास्तरमा यस्ता समन्वयात्मक बैठकहरू नियमित रूपमा हुँदै आएका छन्, जसको उद्देश्य सीमा सुरक्षा सुदृढ गर्दै अवैध गतिविधि नियन्त्रण गर्नु हो ।

 पात्रो/राशिफल  रेडियो YouTube