२०८२ चैत्र १९ | Apr 02, 2026

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छः संयोजक दाहाल

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
561 views

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्तिहरु राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय अखण्डताको रक्षा, क्रान्तिका उपलब्धिको संरक्षणका लागि ती शक्तिबीच सहकार्यको आवश्यकता औँल्याउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले बाह्रबुँदेदेखि विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरु तथा परिवर्तनकामी शक्तिलाई एकताबद्ध बनाउन आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने प्रस्ट पार्नुभयो ।

निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताउँदै उहाँले जनताको जनादेशको सम्मान र परिणाम स्वीकार गरेर सरकारका राम्रा कामको समर्थन एवम् गलत कामको विरोध गर्ने तथा संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन परिणामबाट नेता तथा कार्यकर्ता विचलित र निराश नहुन आग्रह गर्दै नयाँ परिस्थितिमा नयाँ ढङ्गले उच्च मनोबल र उत्साह साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अब पार्टीमा शुद्धीकरण, समग्र पुनर्गठन र पुनर्जागरण अनिवार्य भएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया