२०८२ चैत्र २१ | Apr 04, 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गरे १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
510 views

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले काठमाडौँ–५ को विकास र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । यसअघि सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका रूपमा रहँदा आफूले गरेका प्रतिबद्धता पूरा गर्न इमानदारीपूर्वक प्रयास गरेको उहाँले बताउनुभयो ।

प्रतिज्ञा पत्रमा चक्रपथ दोस्रो खण्डको विस्तार, सामाखुसी–टोखा सडक, विष्णुमती करिडोर र साङ्लेखोला करिडोर जस्ता रणनीतिक परियोजना अघि बढेको उल्लेख छ। सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने, स्थानीय मातृभाषा तथा मौलिक सीपलाई पाठ्यक्रममा समेट्ने विषयमा स्थानीय तहसँग सहकार्य गरिने बताइएको छ।

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँदै सबै नागरिकलाई आबद्ध गर्ने र सेवाको दायरा विस्तार गर्ने नीति अघि सारिएको छ । साथै क्षेत्रलाई मेडिकल हबका रूपमा विकास गरी त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल हृदय केन्द्र, कान्ति बाल अस्पताललगायतको क्षमता विस्तार गर्ने प्रतिबद्धता छ ।

व्यवसायमैत्री कानुन निर्माण, झन्झटिलो दर्ता प्रक्रिया सरल बनाउने, एआई र डिजिटल मार्केटिङसम्बन्धी तालिममार्फत युवालाई विश्व बजारसँग प्रतिस्पर्धी बनाउने योजना पनि समेटिएको छ । भूमिविहीनहरूको पहिचान गरी लालपुर्जा वितरणलाई तीव्रता दिने उल्लेख छ ।

काठमाडौं–५ अन्तर्गतका हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही र अजिमालगायत ऐतिहासिक क्षेत्रलाई खुला संग्रहालय र पर्यटकीय गन्तव्य बनाउने योजना छ । सांस्कृतिक जात्राहरूको ब्रान्डिङ गरी पर्यटन प्रवर्द्धन गरिने बताइएको छ ।

सहरी ढल र डुबान समस्याका लागि स्ट्रोम वाटर ड्रेनेज प्रणाली लागू गर्ने, टोखा–छहरे सुरुङमार्ग र रसुवा–केरुङ राजमार्गलाई व्यापारिक लाइफलाइन बनाउन पहल गर्ने प्रतिबद्धता पनि प्रतिज्ञा पत्रमा छ । अनुसन्धान र विकासलाई प्रोत्साहन, नेपालकै लार्ज ल्याङ्ग्वेज मोडल विकास तथा धनेश्वर खेलमैदानलाई राष्ट्रिय मैदानका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया