२०८२ चैत्र २१ | Apr 04, 2026

प्रतिनिधिसभा बैठक आह्वानका लागि तयारी सुरू

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
612 views

ललितपुर – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गरेलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने तयारी सुरु भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिदेखि ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, विगतदेखि बैठक आह्वान प्रायः एक-दुई हप्ताभित्रै हुने गरेको छ । ‘सचिवालयले नवनिर्वाचित सांसदलाई काठमाडौं आउन १० दिनको समय दिइसकेपछि बैठकका लागि सूचना पठाइन्छ । यसबीच ज्येष्ठ सदस्य राष्ट्रपतिबाट शपथ ग्रहण गर्ने र अन्य सांसदलाई शपथ गराउने काम गर्छन्,’ उहाँले जानकारी दिनुभयो ।

सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको जिम्मेवारी निर्वाह गर्ने कानुनी व्यवस्था रहेको छ । प्रवक्ता गिरीले भने, ‘पहिलो बैठकले सभामुखको निर्वाचन घोषणा गर्छ, र सभामुख अनुपस्थित हुँदा प्रत्येक दलले तीन जनाका दरले नाम सुझाएर अनुमोदन गराउँछ । त्यसपछि पहिलो बैठकमा अध्यादेश पेश हुने प्रावधान छ ।’

निर्माणाधीन संसद् भवन पूरा नभएकाले आगामी प्रतिनिधिसभा केही समयसम्म अन्य हलमा बैठक बस्ने तयारी भइरहेको छ । गिरीका अनुसार, ‘निर्माणाधीन भवनको बीचमा रहेको हलमा बैठक सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन भइरहेको छ ।’

सहरी विकास मन्त्रालय र टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ मा भएको सम्झौता अनुसार संसद् भवन २०७९ असोज १५ भित्र निर्माण भइसक्नु पर्ने थियो। तर कोरोना महामारी र अन्य कारणले भवन अझै निर्माणाधीन छ ।

एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेका परियोजनामा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष, सचिवालय भवन, संसद् लाइब्रेरी, क्यान्टिन र पार्किङ लगायत १२ भवन समावेश छन् । मुख्य भवनमा ३५० सिट क्षमताको संयुक्त लबी, दस दलका कार्यालय, चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, दुई क्यान्टिन (१०० र ३०० सिट) र ३९० सवारीसाधन पार्किङ सुविधा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया