
ललितपुर - माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याएर उत्तीर्ण भएकी विद्यार्थी तेजस्वी पन्तलाई गैँडाकोट इङ्गलिस स्कुलले एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित विद्यालयमा आयोजित कार्यक्रममा नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला र प्रधानाध्यापक हीरालाल अर्यालले संयुक्त रूपमा सम्मान गरेका हुन् ।
कार्यक्रममा नगर शिक्षा अधिकारी आचार्यले उच्च जिपिए मात्र पर्याप्त नभई नम्रता, अनुशासन र सामाजिक मूल्य पनि महत्वपूर्ण हुने बताए। उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
प्रधानाध्यापक हीरालाल अर्यालले विद्यालयले पछिल्ला पाँच वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको जानकारी दिए । उनका अनुसार विद्यालयका एसइई उत्तीर्ण विद्यार्थीको औसत जिपिए ३.४५ रहेको छ भने अंग्रेजी विषयमा सबैभन्दा बढी ३.८० औसत जिपिए प्राप्त भएको छ ।
सम्मानित विद्यार्थी तेजस्वी पन्तले नियमित अध्ययन, शिक्षकको मार्गदर्शन र अभिभावकको सहयोगले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताइन् । उनले घोकेरभन्दा विषयवस्तु बुझेर पढ्दा राम्रो नतिजा आउने अनुभव पनि सुनाइन् ।
२०८२ सालको एसइई नतिजाअनुसार नवलपुर जिल्लाबाट १९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । जिल्लाका १४३ विद्यालयबाट ५ हजार ६९७ विद्यार्थी सहभागी भएकामा ४ हजार १३० जना उत्तीर्ण भएका छन्। जिल्लाको समग्र उत्तीर्ण दर ७२.४९ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले जनाएको छ ।

बिजनेस पाटी













