ललितपुर – बास नेपालको आयोजनामा आज नेपालगञ्जमा पब्लिक स्पिच कार्यक्रमको अडिसन राउण्ड भब्यताका साथ सम्पन्न भएको छ। अडिसन राउण्डबाट १० जना प्रतिभाशाली प्रतिस्पर्धी फाइनल राउण्डमा प्रवेश गरेका छन् ।
यस प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थी र युवाहरूमा बक्तृत्वकला अभिवृद्धि गर्नु, सार्वजनिक भाषणकलामा च्याम्पियनहरूको प्रोत्साहन गर्नु र वाक क्षमता विकास गर्नु रहेको छ । बाँकेको चौथो श्रृंखला अन्तर्गत आयोजित अडिसनमा विभिन्न विद्यालय र कलेजका १५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
प्रतिभागीहरूले नैतिकता र भ्रष्टाचार नियन्त्रण’, ‘मेरो देशको समृद्धिका आधार’, ‘देशको मुख्य प्रवाहमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चितता’ जस्ता विषयमा आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा नेपालगञ्ज मोडेल एकेडेमी, पशुपति मावि राँझा, वेस्ट जोन ई. मि. स्कुल, सिटी पब्लिक, श्री ज्ञानोदय मावि, कृष्ण मावि, महेन्द्र बहुमुखी क्याम्पस, लक्ष्मी मावि सगरमाथा ज्ञानपुञ्ज र मंगलप्रसाद नमुना माविका विद्यार्थीहरू सहभागी थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षाविद् किरण आचार्य, वरिष्ठ पत्रकार रुद्र खड्का र कृष्ण अधिकारी निर्णायकको भूमिकामा रहेका थिए भने बास नेपालको कार्यक्रम संयोजक शोभा थापामगर कार्यक्रम संचालनमा सक्रिय थिइन् ।
प्रतियोगितामा गोलाप्रथाको माध्यमबाट विषय चयन गरी चार मिनेट भित्र आफ्ना विचार प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको थियो । निर्णायकको मुल्यांकनपछि फाइनलमा प्रवेश गर्ने १० जना प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ । बर्षिका भण्डारी, सृष्टि बुढामगर, मनिषा उपाध्याय, लक्ष्मी पोख्रेल, आशिका केसी, चन्द्रलाल जैशी, दिक्षिका खत्री, प्रनिशा भट्टराई, सगुन तिवारी र सबिना कठायत ।
फाइनल राउण्डमा उनीहरूले शान्ति, समृद्धि र विधिको शासनका लागि मेरो भूमिका ‘बौद्धिक पलायन रोकथामका दिगो उपाय’ ‘युवा स्वरोजगारका सम्भावनाहरू र युवा शक्तिको सदुपयोग’, र ‘नेपालमा आर्थिक स्वतन्त्रताका नयाँ उपाय’ जस्ता विषयमा भाषण दिनेछन्। फाइनल राउण्ड माघ २८ गते सी.एस.टी होटल नेपालगञ्जमा हुनेछ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनसम्पर्क अधिकृत माधव कार्कीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया