२०८२ चैत्र २२ | Apr 05, 2026

कस्मेटिक व्यवसायी संघ को १३औं साधारणसभा सम्पन्न, ‘कस्मेटिक स्मारिका–२०८२’ विमोचन

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ७
|
3.9k views

ललितपुर — नेपाल कस्मेटिक व्यवसायी संघ को १३औं वार्षिक साधारणसभा आज काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका अगुवा व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ का उपाध्यक्ष सुरज कृष्ण बैध्यले मन्तव्य राख्दै कस्मेटिक व्यवसाय नेपालको उदीयमान क्षेत्रका रूपमा विकसित भइरहेको उल्लेख गरे । उनले निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए ।
त्यसैगरी, विशिष्ट अतिथि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान का कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता ले व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्रतिष्ठानमार्फत उपलब्ध हुने तालिम, उद्यमशीलता विकास कार्यक्रम तथा परामर्श सेवाबाट लाभ लिन आग्रह गरे । उनले व्यवसाय सुरु गर्न र सञ्चालन गर्न आवश्यक सहजीकरणका लागि प्रतिष्ठानसँग सम्पर्क राख्न सकिने जानकारी गराए ।

अर्का विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ का पूर्व उपाध्यक्षले पनि निजी क्षेत्रको सुदृढीकरणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे । साधारणसभामा संघका अध्यक्ष ऋषिकेश तिमल्सिना ले विगत १३ वर्षमा संघले गरेका गतिविधि र उपलब्धिबारे जानकारी गराए। उनले कस्मेटिक व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन संघले निरन्तर भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘कस्मेटिक स्मारिका–२०८२’ को औपचारिक विमोचन गरिएको छ। संघले विगत १३ वर्षमा गरेका काम, अनुभव, उपलब्धि तथा यस क्षेत्रको विकासक्रमबारे जानकारी दिने उद्देश्यले उक्त स्मारिका प्रकाशन गरेको जनाएको छ । कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूको साझा धारणा भने नेपालमा विद्यमान सरकारी नीति तथा नियामकका कारण व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको भन्ने रहेको थियो। उनीहरूले विभिन्न नीतिगत जटिलता र प्रक्रियागत झन्झटका कारण साना तथा ठूला दुवै व्यवसायी प्रभावित भइरहेको उल्लेख गरे ।

वक्ताहरूले हालको परिस्थितिमा व्यवसायीहरूले अनेक समस्या भोग्नुपरेको भन्दै अब बन्ने नयाँ सरकारले व्यवसायीहरूको पीरमर्का बुझेर व्यवहारिक, स्पष्ट र व्यवसायमैत्री नीति ल्याउने अपेक्षा व्यक्त गरे । सहज वातावरण निर्माण गरी व्यवसाय प्रवर्द्धनमा राज्यले ठोस भूमिका खेल्नुपर्नेमा जोड दिइयो । कार्यक्रममा संघको स्थापना दिवसको अवसर पारेर संघका पुर्ब कर्यसमितिमा रहनुभयका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

वि.सं. २०७१ सालमा स्थापना भएको संघले १३ वर्षको यात्रा पूरा गरेको छ। यस अवधिमा कस्मेटिक क्षेत्र सानो खुद्रा व्यापारबाट विस्तार हुँदै आयात, थोक तथा केही हदसम्म स्वदेशी उत्पादनसम्म फैलिएको उल्लेख गरिएको छ। कार्यक्रममा शहरीकरण, जीवनशैलीमा आएको परिवर्तन तथा सामाजिक सञ्जालको प्रभावका कारण कस्मेटिक सामग्रीको प्रयोग बढ्दो क्रममा रहेको चर्चा गरिएको थियो ।

साथै, युवाहरूको उद्यमशीलता र महिला सहभागिता बढ्दै गएकोले यो क्षेत्र साना तथा मझौला उद्योग विकासको महत्वपूर्ण आधार बन्दै गएको निष्कर्ष निकालिएको छ । अब बन्ने सरकारले व्यवसायीहरूको हकहित संरक्षण, सीप विकास तालिम, बजार अनुगमन तथा जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेछ भन्ने अपेक्षा गरियको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया