ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अदालतमा दर्ता भएका सहकारी ठगीसँगै दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा सम्बन्धी अभियोग पत्र संशोधनमार्फत फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै दायर रिट पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार (फागुन २७) रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेका हुन् । यसले अब रिट तीन वा बढी न्यायाधीशको इजलासमा प्रारम्भदेखि नै सुनुवाइ हुने भएको छ। पूर्ण इजलासमा सुनुवाइ आगामी आइतबारका लागि पेस गर्न पनि आदेश भएको छ ।
गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । यस निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल, र सिन्धुलीका युवराज पौडेल सफलले रिट दायर गरेका हुन् ।
सर्वोच्चको यो आदेशसँगै अब रिट पूर्ण इजलासमा प्रारम्भदेखि अन्तिमसम्म सुनुवाइ हुनेछ, जसले लामिछानेविरुद्धको कानुनी प्रक्रियामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया