राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा बहस सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बहस सम्पन्न भएको हो । यस मुद्दामा सोमबारदेखि सुनुवाइ जारी थियो ।
यसअघि तीन दिनसम्म ‘हेर्दाहेर्दैमा रहेको रिटमा बहस सकिएकाले अब आदेश आउन सक्ने सम्भावना रहेको जनाइएको छ ।
लामिछानेविरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेकी हुन् । उनले आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ताको निवेदन पेस गरे पनि जिल्ला अदालतले सर्वोच्चमा मुद्दा टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने आदेश दिएको थियो ।
मुद्दा फिर्ता गर्ने निर्णयपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
यसैबीच, यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा भने अझै कायम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया