ललितपुर - ललितपुर – राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता, सुशासन र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरी सुशासन कायम गर्न आयोगले अझ सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शक्ति र पदमा पुगेकै आधारमा कोही पनि कानुनी जवाफदेहिताबाट मुक्त हुन नसक्ने विश्वास आम नागरिकमा दिलाउन राज्यका निकायहरूले निष्पक्ष र पारदर्शी कामकारबाही गर्नुपर्ने बताउनुभयो । अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथिको गहिरो आघात हो,” उहाँले भन्नुभयो, “यसले आर्थिक क्षतिभन्दा धेरै पर पुगेर राज्य र नागरिकबीचको भरोसाको सेतु कमजोर बनाउँछ ।
राष्ट्रपति पौडेलका अनुसार सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा लोकतन्त्रप्रतिको विश्वास घट्ने, शासन प्रणालीप्रति निराशा बढ्ने र कानुनप्रतिको आस्था कमजोर हुने गर्दछ । त्यसैले आयोगले प्रभावकारी अनुसन्धान र कारबाहीमार्फत नागरिकलाई न्यायको अनुभूति दिलाउनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले सत्ता, शक्ति र धनप्रतिको अनावश्यक मोहले प्रक्रिया र प्रणालीको दुरुपयोग गरी भ्रष्टाचार बढ्ने, तर सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शिता र निर्भीकतालाई जीवनशैलीका रूपमा अपनाउन सके भ्रष्टाचार न्यूनीकरण सम्भव हुने उल्लेख गर्नुभयो । नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारमार्फत अनुशासित र इमानदार प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्न नसक्ने स्पष्ट पार्दै विकास, सामाजिक न्याय र समृद्धिको आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताउनुभयो । सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनैपर्ने र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने उहाँको धारणा थियो ।
उहाँले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको साझा दायित्व भएको बताउनुभयो । संयुक्त प्रतिबद्धता र सहकार्यबाट मात्र नागरिकको विश्वास पुनःस्थापित गर्न सकिने र लोकतन्त्र सुदृढ बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।
अन्त्यमा राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो शर्त भएको स्पष्ट गर्दै राजनीतिक नेतृत्वको सकारात्मक कार्यसंस्कृतिले प्रशासनिक क्षेत्रमा पनि सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । स्वच्छ, सक्षम र भरोसायोग्य शासन प्रणाली निर्माण गर्न सबै पक्ष जिम्मेवार र इमानदार बन्न आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

बिजनेस पाटी