ललितपुर – नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि आज जापान पुग्नुभएको छ ।
राष्ट्रपति पौडेललाई जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभएको थियो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापान प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेल जापानमा आयोजना हुने ७०औँ वर्षगाँठसम्बन्धी विशेष कार्यक्रममा सहभागी हुनुहुने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता तय भएको छ । यस्तै, जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि उहाँले शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तर्क्रिया गर्नुका साथै जापानस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजना गरिने स्वागत समारोहमा पनि सहभागिता जनाउनुहुनेछ ।
नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका थिए ।
चारदिने औपचारिक भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल यही माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया