२०८२ फाल्गुन ६ | Feb 18, 2026

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ५० अर्ब संकलन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २८
|
867 views

ललितपुर – बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग कमजोर बन्दै जाँदा बैंकिङ प्रणालीमा बढ्दै गएको तरलतालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बराबरको रकम अस्थायी रूपमा संकलन गर्ने भएको छ ।

केन्द्रीय बैंकले माघ २८ गते दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ । यो प्रक्रिया बैंकहरूबीच ब्याजदरमा प्रतिस्पर्धा हुने प्रणालीमा आधारित रहनेछ, जसले बजारको वास्तविक ब्याजदर संकेतसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्ताव गर्दा ५ करोड रुपैयाँको गुणनफलमा रकम तोक्नुपर्ने व्यवस्था गरिएको छ ।

यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। ४६ दिन अवधिको निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी चैत १५ गते एकमुष्ट रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला महिनाहरूमा कर्जा विस्तार अपेक्षित रूपमा हुन नसक्दा बैंकहरूमा थुप्रिएको तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा अत्यधिक तरलताले ब्याजदरलाई अस्थिर बनाउन सक्ने जोखिम रहँदा राष्ट्र बैंकले बजार स्थायित्व कायम राख्न निक्षेप संकलन उपकरणलाई सक्रिय रूपमा प्रयोग गर्दै आएको छ ।

अर्थविद्हरूका अनुसार केन्द्रीय बैंकको यो कदमले छोटो अवधिमा बैंकहरूको कोष व्यवस्थापन सन्तुलित राख्न र मौद्रिक नीतिको प्रभावकारिता कायम गर्न सहयोग पुर्‍याउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया