राष्ट्रपति पौडेल महाशिवरात्रि र २६३औँ सेना दिवसमा सहभागिता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ३
|
714 views

ललितपुर - ललितपुर – राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभयो र नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो ।

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

समारोहमा राष्ट्रपति पौडेलले ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गर्नुभयो। साथै ‘फ्रि फल जम्प’ मा प्रथम स्थान प्राप्त प्रमुख सेनानी विवेक बिक्रम शाह र दोस्रो स्थान प्राप्त रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले सेना दिवस समारोहमा भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गर्नुभयो ।

पूर्वतयारीका क्रममा सेनाको हेलिकप्टर र ड्रोनमार्फत पुष्पवृष्टि, राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८२’ ब्यानर प्रदर्शन गरिएको थियो। समारोहमा राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रदर्शन समेत गरिएको थियो ।

कार्यक्रममा सेनाद्वारा रणकौशल, परम्परागत वेशभूषा, नृत्य र सङ्गीत प्रस्तुति तथा मर्चपास प्रस्तुत गरिएको थियो । साथै नेपाली सेनाले प्रयोग गर्दै आएका हातहतियार, उपकरण र सवारी साधन प्रदर्शन गरेका थिए ।

समारोहमा उपस्थित व्यक्ति

  • उपराष्ट्रपति रामसहायप्रसाद यादव
  • प्रधानमन्त्री सुशीला कार्की
  • प्रधानन्यायाधीश प्रकाशमानसिह राउत
  • राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल
  • नेपाल सरकारका मन्त्रीगण, पूर्वमन्त्री, संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा समाजका प्रतिष्ठित महानुभाव

सर्वसाधारणले टुँडिखेल वरपर बाक्लो उपस्थिती देखाएका थिए। नेपाल टेलिभिजन लगायतका विद्युतीय सञ्चारमाध्यमले कार्यक्रम प्रत्यक्ष प्रसारण गरेका थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube