ललितपुर - ललितपुर – सुडानको युद्धमा नागरिकहरूको हत्या सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले बढेको संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले बताएका छन् ।
अप्रिल २०२३ देखि सुडान सेना र द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वमा दसौं हजारको ज्यान गएको, करिब १ करोड १० लाख मानिस विस्थापित भएको र विश्वकै गम्भीर मानवीय संकट सिर्जना भएको जनाइएको छ ।
संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा सम्बोधन गर्दै मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले भन्नुभयो, ‘यो युद्ध कुरूप, रक्तपातपूर्ण र मूर्खतापूर्ण छ ।‘ उहाँले दुवै पक्षले मानवीय युद्धविराम अस्वीकार गरेको भन्दै आलोचना गर्नुभयो ।
टर्कका अनुसार, सन् २०२५ मा नागरिक हत्याका घटना साढे दुई गुणाले बढेका छन् र हजारौं मानिस अझै बेपत्ता वा पहिचान हुन नसकेका अवस्थामा छन् ।
उहाँले यौन हिंसा, मृत्युदण्ड, स्वेच्छाचारी हिरासत र ‘जघन्य तथा निर्दयी’ अत्याचार बढ्दो क्रममा रहेको बताउनुभयो । सन् २०२५ मा मात्र ५०० भन्दा बढी यौन हिंसाका पीडितहरू दस्तावेज गरिएको जानकारी दिइएको छ ।
अप्रिलमा जामजाम शिविर र अक्टोबरमा एल–फासरमा भएको ‘नरसंहार’ प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना पुनः नदोहो¥याउन अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको टर्कले जोड दिनुभयो ।
उहाँका अनुसार, सेना र आरएसएफ दुवैले घना बस्ती भएका क्षेत्रमा चेतावनीबिनै विस्फोटक हतियार प्रयोग गरिरहेका छन्, जसले मानव जीवनप्रति पूर्ण बेवास्ता देखाउँछ ।
जनवरीयता दक्षिणी कोर्डोफान क्षेत्रमा बढ्दो ड्रोन आक्रमणबाट करिब ६०० सर्वसाधारण हताहत भएका बताइएको छ । साथै, समाजको बढ्दो सैन्यीकरण र बालबालिका तथा युवाहरूको भर्तीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

बिजनेस पाटी