२०८२ फाल्गुन ६ | Feb 18, 2026

डेपुटी गभर्नर बन्ने होडमा राष्ट्र बैंक अस्तव्यस्त, नियमित कामकाज प्रभावित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
918 views

ललितपुर – नेपाल राष्ट्र बैंकभित्र पछिल्लो समय आन्तरिक प्रशासनभन्दा बढी पदको दौड चर्चामा छ । विशेषगरी डेपुटी गभर्नर नियुक्तिको प्रतिस्पर्धाले उच्च तहका अधिकारीहरू लगातार दौडधुपमा लाग्दा राष्ट्रबैंकको नियमित कामकाज नै प्रभावित हुन थालेको छ ।
राष्ट्र बैंकका केही उच्च अधिकारीहरू मन्त्रालय, राजनीतिक नेतृत्व र शक्ति केन्द्र वरिपरि धाइरहेका कारण नीतिगत निर्णय, अनुगमन र आन्तरिक समन्वय सुस्त बनेको स्रोतहरू बताउँछन् । जिम्मेवारीमा बसेका हाकिमहरू कार्यालयभन्दा बाहिर बढी देखिन थालेपछि दैनिक प्रशासनिक कामहरू थाँतीमा पर्न थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाको नियमन, मौद्रिक नीतिको कार्यान्वयन र वित्तीय स्थायित्वसँग जोडिएका विषयमा समयमै निर्णय हुन नसक्दा सरोकारवाला पक्षले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । “केन्द्रीय बैंक जस्तो संवेदनशील संस्थामा यस्तो अवस्था आउनु चिन्ताको विषय हो,” एक पूर्व अधिकारी भन्छन् ।

राजनीतिक पहुँच र सिफारिसको भरमा पद सुनिश्चित गर्ने प्रयासले संस्थागत मर्यादा कमजोर हुँदै गएको आरोपसमेत उठ्न थालेको छ । आन्तरिक प्रतिस्पर्धा अस्वस्थ बन्दै जाँदा कर्मचारी मनोबलमा समेत नकारात्मक असर परेको बताइन्छ ।

अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला राष्ट्र बैंकले नेतृत्वको दौडभन्दा संस्थागत जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने आवाज बलियो बन्दै गएको छ । समयमै नियुक्ति प्रक्रिया टुंग्याएर नियमित कामलाई गति दिनुपर्ने माग पनि बढ्दै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया