ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आमनिर्वाचनलाई लक्ष्य बनाउँदै आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित सभाबाट पार्टीका प्रमुख नेताहरुले वाचापत्र अनावरण गर्नुभएको थियो ।
पार्टीका उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले वाचापत्रका एक सय आधारभूत नीतिगत कार्यक्रम प्रस्तुत गर्दै अर्थतन्त्र सुधार, सरकारी सेवाको डिजिटल पहुँच, नागरिकको विश्वास र निजी क्षेत्रसँगको साझेदारी बढाउने योजना प्रस्तुत गर्नुभएको छ ।
वाग्लेले घोषणा गरे कि दशकौंदेखि थन्किएका ऐन र नियमावली खारेज गरी विकासका लागि बाधक तत्व हटाइनेछ। कर प्रणाली सरल बनाइने, झन्झटीला प्रक्रियाको जालो च्यातिने र दैलो दैलोमा सरकार पुग्ने व्यवस्था लागू गरिने छ ।
रास्वपाले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आयको मुलुक बनाउने र स्थिर मूल्यमा वार्षिक कम्तिमा ७% आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । साथै, ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरसम्म पुर्याउने योजना अघि सारिएको छ ।

बिजनेस पाटी