
ललितपुर - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो एघारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय सिंहदरबार स्थित सभाहलमा भएको साधारणसभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । छलफलपछि सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् चार करोड रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सभाले कम्पनीको आ।व। २०८३/८४ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गर्नुका साथै कम्पनीका नवनियुक्त सञ्चालकहरूको नियुक्ति अनुमोदन गरेको छ । सभामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उपकार्यकारी अधिकृत निम्बल श्रेष्ठले १०० प्रतिशत शेयर प्रतिनिधित्वसहित सहभागिता जनाए ।
प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल उपस्थित थिए । उक्त कार्यक्रममा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रतिनिधि, बाह्य लेखा परीक्षकहरू तथा आरविवि म्युचुअल फण्ड १ र २ का लेखा परीक्षकहरूको पनि उपस्थिति रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आरविवि म्युचुअल फण्ड १ ले २.७५ प्रतिशत, म्युचुअल फण्ड २ ले ६ प्रतिशत र आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश वितरण गर्न कम्पनी सफल भएको छ ।



बिजनेस पाटी



