ललितपुर – नेपाल राष्ट्र बैंक ले सर्वसाधारणलाई वित्तीय कारोबार गर्दा कागजात राम्ररी पढेर मात्र हस्ताक्षर गर्न सचेत गराएको छ। वित्तीय साक्षरता बढाउने उद्देश्यले बैंकले सार्वजनिक गरेको सूचनामा यस्तो आग्रह गरिएको हो ।
सूचनामा उल्लेख भएअनुसार कुनै पनि वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै निश्चित सर्त तथा नियममा बाँधिएका हुन्छन्। ती सर्तहरूको पालना गर्नु दुवै पक्षको कानुनी जिम्मेवारी हुने भएकाले पछि समस्या आउन नदिन, हस्ताक्षर गर्नु अघि कागजातमा उल्लेखित सर्तहरू राम्ररी पढ्न र नबुझेमा प्रश्न सोधेर स्पष्ट बुझ्न आग्रह गरिएको छ ।
राष्ट्र बैंकका अनुसार ग्राहकले वित्तीय सेवा लिनुअघि सम्बन्धित कागजातका सर्तहरू बुझ्नुपर्छ। कुनै कुरा नबुझेमा सेवा प्रदायकसँग सोधेर स्पष्ट जानकारी लिनुपर्छ र हस्ताक्षर गरिएको कागजातको प्रति सुरक्षित राख्नुपर्छ ।
बैंकले स्पष्ट पारेको छ कि ग्राहकसँग सर्तबारे प्रश्न सोध्ने र जानकारी लिन पाउने अधिकार हुन्छ भने ती सर्तहरू स्पष्ट रूपमा बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायक को हुन्छ । साथै, कारोबारसँग सम्बन्धित आवश्यक विवरण र सूचना उपलब्ध गराउनु ग्राहकको दायित्व हो भने सोधिएका प्रश्नको सरल र सही उत्तर दिनु तथा कागजात उपलब्ध गराउनु सेवा प्रदायकको जिम्मेवारी हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया