
ललितपुर - रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गतेको बिहान आकस्मिक बाढी गयो । अकल्पनीय विनाशकारी बाढीमा व्यक्तिगत घरहरू बगे अनि क्षतिसमेत भए । जलविद्युत् आयोजना, सडक, विद्यालय, स्वास्थ्य संस्थाजस्ता पूर्वाधारहरुमा क्षति भयो । बाढीको शक्तिशाली भेलले बगाएका आफ्ना प्रियजनका खोजीमा परिवारजन, आफन्तजन भौतारिनुपर्ने, तड्पिनुपर्ने र चिन्तित हुनुपर्ने अवस्था आयो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा परिचालित प्रारम्भिक प्रतिकार्यकर्ताहरूमध्ये राष्ट्रिय प्रतिकार्य टोली ‘एनआरटी’का सदस्यद्वय नवीनराज तिवारी र प्रकाश कार्की पनि हुुनुहुन्थ्यो । उहाँहरू दुवैका लागि यस विपद्ले प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि साहस र प्रतिबद्धता मात्र पर्याप्त नहुने, बरु पूर्वतयारी, समन्वय र समुदायलाई सबैभन्दा बढी सहयोगको आवश्यकता परेका समयमा छिटो र प्रभावकारी रूपमा परिचालित हुन सक्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुने कुरालाई पुनः स्मरण गरायो । उहाँहरू दुवैले एनआरटी तालिममा आफ्नो लामो समयदेखिको कार्यगत अनुभव र व्यावहारिक ज्ञान प्रस्तुत गर्नुभएको थियो ।
सन् २००१ मा नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भई हाल चितवन जिल्ला शाखामा कार्यरत नवीनका लागि आपत्कालीन अवस्थामा कार्य गर्नु नौलो होइन । अर्कातिर, जुनियर रेडक्रसबाट आफ्नो रेडक्रसको मानवीय स्वयंसेवा यात्रा सुरुआत गर्नुभएका प्रकाश सन् २००९ देखि नेपाल रेडक्रसको कर्मचारीका रूपमा कार्यरत छन् । उहाँले विकास कार्यक्रमका साथै आपत्कालीन प्रतिकार्यका कार्यहरूमा सहयोग पुर्याउँदै आउनुभएको छ । तै पनि, दुवै तालिमप्राप्त उद्धारकर्मीका अनुसार सन् २०२६ को जुनमा नेपाल रेडक्रसद्वारा आयोजित ‘एनआरटी’ तालिमले केही फरक अनुभव प्रदान गर्यो । अर्थात्, आपत्कालीन प्रतिकार्यका लागि अझ व्यवस्थित र समन्वयात्मक दृष्टिकोण प्रदान गर्यो । नवीन स्मरण गर्नुहुन्छ, ‘मसँग पहिले नै व्यावहारिक स्थलगत अनुभव थियो । एनआरटी तालिमले मलाई अझ व्यवस्थित तरिका अपनाएर उक्त अनुभवलाई थप सुदृढ र व्यवस्थित बनाउन सहयोग पुर्यायो ।’
उहाँका लागि सबैभन्दा महत्वपूर्ण सिकाइहरूमध्ये क्षति तथा आपत्कालीन आवश्यकताको लेखाजोखा कसरी गर्ने र राहत वितरणको योजना अझ प्रभावकारी रूपमा कसरी बनाउने भन्ने सिकाइ थियो । ‘विपद्का समयमा मानिसहरूका विभिन्न आवश्यकताहरू हुन्छन् र ती सबैलाई तत्काल पूरा गर्न प्रायः सम्भव हुँदैन,’ उहाँ भन्नुहुन्छ, ‘यस तालिमले मलाई प्रभावित परिवारहरूका सबैभन्दा अत्यावश्यक आवश्यकताहरू पहिचान गर्न तथा अझ लक्षित र प्रभावकारी ढङ्गले सहयोगको योजना बनाउन सहयोग गर्यो । ‘
ती ज्ञान र सीपहरूको परीक्षण लगभग तुरुन्तै भयो । रसुवा, नुवाकोट र धादिङसहित आसपासका जिल्लाहरूमा आएको भीषण बाढीपछि, प्रभावित समुदायहरूसम्म पुग्न उद्धार तथा राहतकर्मीहरूले ठूलो चुनौतीको सामना गर्नुपर्यो । बाढीले आवतजावतका मुख्य मार्गहरूमा आवतजावत गर्न अवरोध एवं क्षति भएका कारण ती जिल्लाहरूमा यातायात सम्पर्क विच्छेद भएको थियो । राहत सामग्रीको ओसारपसारमा अवरोध सिर्जना भएको थियो । विद्युत् र सञ्चार सेवाहरू पनि नराम्ररी प्रभावित भएका थिए । जसका कारण धेरै परिवारहरू आफ्ना प्रियजनहरूसँग सम्पर्क गर्न वा सूचनाप्राप्त गर्न असमर्थ भए । साथै, त्यही समयमा, विपद्का कारण बेपत्ता भएका आफ्ना आफन्तहरू एवं प्रियजनका खोजीमा मानिसहरू व्याकुल भएर भौतारिरहेका थिए । प्रतिकार्यका क्रममा प्रकाशले द्रूत लेखाजोखाहरूमा सहयोग गर्नुभयो ।
बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण व्यवस्थापनमा समन्वय गर्नुभयो । स्वयंसेवक परिचालनमा सहयोग एवं समन्वय पुर्याउनुभयो र नगद सहयोग प्रदान गर्न सकिन्छ कि भनेर यकिन गर्न बजारको द्रुत मूल्याङ्कन समेत गर्नुभयो । यसअघि पनि मैले विभिन्न विपद्को प्रतिकार्यमा सम्लग्न थिएँ । सामना गरेको थिएँ, तर भोटेकोशी बाढीको अवस्था भने अत्यन्तै फरक थियो । प्रकाश भन्नुहुन्छ त्यहाँको विनाश र सर्वस्व गुमाएका धेरै बालबालिकालाई देख्दा म निशब्द भएँ । ती कठिन परिस्थितिहरूमा, एनआरटी तालिमबाट प्राप्त मूल्याङ्कनसम्बन्धी सीपहरूले अति आवश्यक दिशा प्रदान गर्न सहयोग गरे । उहाँ भन्नुहुन्छ विपद्ले पुर्याएको ठूलो क्षति देखेर आत्तिनुको सट्टा, आवश्यकताको मूल्याङ्कन गर्ने विधिले मानिसहरूलाई तत्काल के–कस्ता सहयोग चाहिएको छ भन्ने बुझ्न र सबैभन्दा जोखिममा रहेका परिवारलाई पहिले प्राथमिकता दिन मलाई सहज बनायो । चितवन जिल्लामा नदीको तल्लो तटीय क्षेत्रमा, नवीन प्रतिकार्यको अर्को एक महत्वपूर्ण पक्षमा सहयोग गरिरहेका थिए ।
उहाँले केन्द्रीय कार्यालय, स्थानीय निकाय, सुरक्षा निकाय, जिल्ला शाखाहरू र स्वयंसेवकहरूसँग नजिक रहेर काम गर्नुभयो । उहाँ भन्नुहुन्छ समन्वयात्मक निर्णय प्रक्रियामा सहयोग पुर्याएँ । सही सूचना सङ्कलन, विश्लेषण र आदान–प्रदान सुनिश्चित गर्न मद्दत गरे। प्रकाशलाई तालिम अत्यन्तै उपयोगी साबित भयो । किनभने परिस्थिति तीव्र गतिमा परिवर्तन भइरहेको थियो र प्रभावकारी समन्वय सही जानकारी तथा स्पष्ट सञ्चारमा निर्भर थियो तैपनि आपतकालीन प्रतिकार्यका प्राविधिक पक्षहरूका बीचमा पनि, त्यस सङ्कटसँग जोडिएका व्यक्तिगत कथाहरूलाई बेवास्ता गर्न असम्भव थियो । नवीनका सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारीहरूमध्ये एउटा नदी किनारमा फेला परेका मानव अवशेषहरूको व्यवस्थापन गर्ने कार्य थियो । बाढीले माथिल्लो भागका जिल्लाहरूबाट शवहरू बगाएर ल्याएको थियो र धेरैजसो शवहरू केही दिनपछि फेला परेका थिए । केही गम्भीर रूपमा कुहिएका थिए, जसले गर्दा पहिचान गर्न अत्यन्तै चुनौतीपूर्ण बनेको थियो । एउटा सम्झना विशेष रूपमा जीवन्त छ । जब मैले शव राखिने केन्द्रको भ्रमण गरेको थिएँ, मलाई सधैँ याद रहने एउटा क्षण सम्झनामा रहन गयो ।
बाढीपछि फेला परेका सामानहरूमध्ये एउटा बच्चाको विद्यालयको टाई पनि थियो । उहाँ भन्नुहुन्छ, त्यो टाई एउटा महत्त्वपूर्ण सूचना बन्यो, जसले बच्चाको पहिचान गर्न र शोकाकुल परिवारलाई जवाफ दिन मद्दत ग¥यो । विद्यालयको एउटा सामान्य टाई कसरी परिवार र उनीहरूका प्रियजनबीचको एकमात्र सम्पर्क सूत्र बन्यो भन्ने कुरा निकै मर्माहत बनाउने खालको थियो । प्रकाशलाई उद्धार तथा राहत कार्यका क्रममा भेटेका मानिसहरू पनि याद छन् । “धेरै परिवारले आफ्ना कम उमेरका सदस्यहरू गुमाएका थिए, उहाँ भन्नुहुन्छ, उनीहरू सबैमाझ एउटा साझा कुरा के थियो भने, उनीहरू आफ्ना प्रियजनहरूको सम्झनामा थिए । भौतिक सम्पत्ति महत्त्वपूर्ण थिएन । यस चुनौतीपूर्ण समयमा, धेरै मानिसहरूले आफ्नै व्यक्तिगत क्षति बेहोर्नुपरेको भए तापनि प्रभावित समुदायहरूलाई सहयोग गर्न अग्रसरता देखाए । दुवै उद्धारकर्ताका लागि, यी अनुभवहरूले मानवीय कार्यसम्बन्धी एउटा साझा पाठलाई अझ बलियो बनाए । स्वयंसेवक तथा समुदायका सदस्यहरूसँग मिलेर काम गर्ने क्रममा उहाँहरूले असीम पीडाका साथै उल्लेखनीय सहनशीलता र ऐक्यबद्धता पनि देखे । स्वयंसेवक नवीन भन्नुहुन्छ, हरेक तथ्याङ्कको पछाडि एक व्यक्ति, एउटा परिवार र सधैँका लागि बदलिएको जीवन हुन्छ ।
नेपालभरि जलवायु तथा विपद्जन्य जोखिमहरू बढ्दै जाँदा, हालैका बाढी प्रतिकार्यका अनुभवबाट सिकिएका पाठहरू पहिलेभन्दा अझ बढी सान्दर्भिक भएका छन् । नवीन र प्रकाशजस्ता विपद् प्रतिकार्यमा खटिनेहरूका लागि, पूर्वतयारी भनेको विपद् आइपर्दा काम गर्न तयार रहनु मात्र होइन; यसको अर्थ अत्यन्त कठिन क्षणको सामना गरिरहेका मानिसहरूले आफूलाई सबैभन्दा बढी आवश्यकता पर्दा समयमै सहयोग, सम्मान र आशा प्राप्त गर्ने सुनिश्चित गर्नु पनि हो ।
पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना गर्न अझ राम्ररी तयार भएको हरेक समुदायमा महसुस गरिन्छ । (लेखक पौडेल रेडक्रस तथा रेडक्रिसियन सोसाइटीको महासंघ (आइएफआरसी ) नेशनल सोसाइटीको प्रिपियरनेस संयोजक हुनुहुन्छ ।



बिजनेस पाटी